काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल मंसिर १५ मा त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुनेछ।
मंसिर १६ गते उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैन । तर, त्यसको मंसिर १७ देखि भने दिनमा दुई खेल हुनेछ। पहिलो खेलमा बिहान ९ः १५ तथा दोस्रो खेल दिउँसो १ः१५ मा हुनेछ ।
लिग चरणका खेल पुस १ गतेसम्म हुनेछ। लिगको शीर्ष दुई टोलीले पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटरमा प्रतिस्र्धा गर्नेछन् ।
एलिमिनेटर पुस ३ गते बिहान ९ः१५ र पहिलो क्वालिफायर दिउँसो १ः१५ मा सुरु हुने छ ।
पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ। यो खेल पुस ४ गते दिउँसो १२ः१५ मा सुरु हुने छ ।
पहिलो र दोस्रो क्वालिफायरको विजेताले पुस ६ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यो खेल खेल दिउँसो १२ः१५ मा हुनेछ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।