काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार र्याली गर्ने भएको छ ।
सुदूरपश्चिमले धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको गर्ने जानकारी दियो । दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायतका खेलाडी र्यालीमा सहभागी हुनेछन् ।
र्यालीको तयारी लगभग पूरा भएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए। उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सले क्रिकेटको साथ लिएको बताउँदै र्यालीमा सहभागी भएर टिमको हौसला बढाउन सर्वसाधारणलाई आग्रह गरे ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।