काठमाडौं । इङ्ल्यान्डले घरेलु टोली वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला दुई खेल अगावै आफ्नो पक्षमा पारेको छ ।
डारेन सामी नेसन्नल क्रिकेट मैदानमा शुक्रबार सम्पन्न तेस्रो खेलमा इङ्ल्यान्ड तीन विकेटले विजयी भयो ।
जितसँगै इङ्ल्यान्ड पाँच खेलको शृंखलामा ३-० ले अगाडि बढेको छ । यसअघि इङ्ल्यान्ड आठ र सात विकेटले विजयी भएको थियो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १४६ रनको लक्ष्य इङ्ल्यान्डले चार बल बाँकी रहँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।
इङ्ल्यान्डका लागि साम करनले ४१, लियम लिभिङ्गस्टोनले ३९ र विल ज्याकले ३२ रन बनाए ।
वेस्ट इन्डिजका लागि अकिल हुसेनले चार तथा अल्जारी जोसेफ, गुडाकेश मोती र टेरेन्स हिन्ड्सले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४५ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले ४१ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी रोमारियो शेफर्डले ३० र अल्जारी जोसेफले अविजित २१ रन बनाए ।
इङ्ल्यान्डका लागि सकिब महमद र जिमी ओभरटनले समान तीन तथा जोफ्रा आर्चरले एक विकेट लिए ।
शृंखलाको चौथो खेल आइतबार हुनेछ ।