काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले हस्पिटालिटी पार्टनरका रूपमा होटल म्यारियटसँगै सम्झौता गरेको छ ।
सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारियटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरे ।
खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागत योग्य छ । हामी म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौं,’ खड्काले भने ।
कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ‘हामी सुदुरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौं । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं,’ उनले भने ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।