काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार युवा तथा प्रतिभावन खेलाडीका लागि ‘ट्यालेन्ट हन्ट गर्ने भएको छ ।
कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् । ‘कर्णाली याक्सले शुक्रबार प्रतिभावान खेलाडी छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले भने, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं ।’
कर्णालीका सह मालिक गृहेन्द्र घिमिरेले ‘ट्यालेन्ट हन्ट’ वीरेन्द्रनगरको कर्णाली रंगशालामा हुने जानकारी गराए ।
मालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अराउन्डर सोमपाल कामी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।