काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले घरेलु टोली क्यानाडाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
किंग सिटीस्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपाल क्यानाडालाई पराजित गर्दै शृंखलामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ । नेपाल र क्यानाडाबीच एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म तीन खेल भएका छन् । तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।
नेपाल आइसिसी लिग-२ को दोस्रो शृंखलाका लागि क्यानाडा पुगेको छ । यो शृंखलामा नेपाल, क्यानाडा र ओमानले प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।
नेपालको प्लेइङ-११
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, ललितनारायण राजवंशी, सन्दीप लामिछाने