काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा पाँच विकेटको जित निकालेको छ ।
जितसँगै इङ्ल्यान्ड तीन खेलको शृंखलामा १-० ले अगाडि बढेको छ । शृंखलाको दोस्रो खेल बिहीबारदेखि सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा श्रीलंकाले प्रस्तुत गरेको २०५ रनको लक्ष्य इङ्ल्यान्डले पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
इङ्ल्यान्डका लागि जो रुटले १२८ बलमा दुई चौकाको मद्दतले अविजित ६२ रन बनाए । यसैगरी जेमी स्मिथले ३९, डेन लरेन्सले ३४, ह्यारी ब्रुकले ३२, बेन डकेटले ११ तथा क्रिस वोक्सले अविजित ११ रन जोडे ।
श्रीलंकाका लागि असिथा फर्नान्डो र प्रभात जयसुर्याले समान दुई तथा मिलन रत्नायकेले एक विकेट लिए ।
दोस्रो इनिङमा श्रीलंकाले सबै विकेट गुमाउँदै ३२६ रन बनाएपछि इङ्ल्यान्डले २०५ रनको लक्ष्य प्राप्त गरेको थियो ।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८३ बलमा १५ चौका र एक छक्काको मद्दतले ११३ रनको योगदान गरेका थीए । यसैगरी दिनेश चन्डिमलले ११९ बलमा सात चौकाको मद्दतले ७९, एन्जेलो म्याथ्युजले ६५, दिमुथ करुणारत्नेले २७, कप्तान धनन्जय डी सिल्भाले ११ र मिलन रत्नायकेले १० रन बनाए ।
इङ्ल्यान्डका लागि क्रिस वाेक्स र म्याथ्यु पोट्सले समान तीन, गस एट्किन्सले दुई तथा मार्क उड र जो रुटले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा २३६ रनमा सीमित भएको थियो । इङ्ल्यान्डले ३५८ रन बनाउँदै पहिलो इनिङमा १२२ रनको अग्रता लिएको थियो ।