आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकप: इङ्ल्यान्डले दियो श्रीलंकालाई १ सय ५७ रनको लक्ष्य

काठमाडौं । साबिक विजेता इङ्ल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा श्रीलंकासामू १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४३, जोनी बेरिस्टोले ३०, डेविड मिलानले २८, मोइन अलीले १५ र डेविड विलीले अविजित १४ रन बनाए ।

श्रीलंकाका लागि लाहिरु कुमाराले तीन, एन्जेलो म्याथ्युज र कासुन रजिथाले समान दुई तथा महेश तिक्क्षणाले एक विकेट लिए ।

दुवै टोली दोस्रो जितको लक्ष्यमा छन् । इङ्ल्यान्डले यसअघि न्युजिल्यान्डसँग नौ विकेट, अफगानिस्तानसँग ६९ र दक्षिण अफ्रिकासँग २ सय २९ रनको पराजय व्यहोर्दा बंगलादेशलाई १ सय ६७ रनले हराएको थियो ।

यसैगरी यसअघि दक्षिण अफ्रिकासँग १ सय २ रन, पाकिस्तानसँग ६ र अस्ट्रेलियासँग पाँच विकेको हार व्यहोरेको श्रीलंकाले नेदरल्यान्ड्सलाई पाँच विकेटले स्तब्ध बनाएको थियो ।