काठमाडौं । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध नेपालले आक्रामक सुरुआत गरेको छ । चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर ब्याटिङ गरेको नेपालले सुरुआती १० ओभरमा एक सय रन कटाएको छ ।
क्रिजमा रहेका कुशल मल्लले अर्धसतक बनाएका छन् । उनले आक्रामक ब्याटिङ गर्दै तेस्रो नम्बर क्रिजमा आएर ५० रन पुरा गरेका हुन् । कुशलले २१ बलमा ६३ रन बनाएर खेलिरहेको छन् । कप्तान रोहितले पाँच बलमा आठ रन बनाएर साथ दिएका छन् । १० ओभरको खेल सम्पन्न हुँदा नेपालले एक सय १६ रन बनाएको छ ।
झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए ।
यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन ।
मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाली टोलीमा कप्तान रोहितसँगै ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने छन् ।