काठमाडौं । अपि स्कुलको आयोजनामा हुने ‘अपि क्रिकेट कार्निभल’ भदौ ३० गतेदेखि सुरु हुने भएको छ ।
आयोजक अपि स्कुलले बहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ ३० गतेदेखि असोज २ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगिता धापासी हाइट टोखामा सञ्चालन हुनेछ । प्रतियोगितामा काठमाडौंका १२ स्कुलको सहभागिता रहनेछ ।
प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआइ, मोक्षदा स्कुल, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाइअर सेकेन्डरी, एभिएस र श्रीकामना बोडिङ स्कुलले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी सोही स्कुलमा कक्षा १० सम्म अध्ययनरत हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टोली रहनेछन् ।
समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टोलीका आठ खेलाडीले खेल्नेछन् । प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ ।