एसिसी एसिया कप

एसिया कप अगाडि सह-आयोजक श्रीलंकालाई धक्का

काठमाडौं । एसिसी एसिया कप सुरु हुन एक दिनमात्र बाँकी रहँदा ६ पटकको विजेता तथा सह–आयोजक श्रीलंकालाई  उपाधि रक्षा लक्ष्यमा धक्का लागेको छ ।

मंगलबार श्रीलंकाले चार मुख्य खेलाडीविनै एसिया कप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । चोटका कारण अलराउन्डर वानिन्दु हसरंगा बलरहरु दुशमान्थ चमिरा, लाहिरु मदुशंका र लाहिरु कुमारा बाहिरिएका हुन् ।

हसरंगालाई तिघ्राको चोटले सताइरहेको छ । लंका प्रिमियर लिगका क्रममा उनी घाइते भएका थिए । उक्त फ्रेन्चाइज लिगमा हसरंगा सर्वाधिक रनकर्ताका साथै सर्वाधिक विकेट लिने खेलाडी थिए ।

चमिरालाई छातिको समस्या र कुमारालाई पेटको मांशपेसी समस्या छ । त्यस्तै मदुशंका अभ्यासका दौरान घाइते भएका थिए ।

सहआयोजक श्रीलंकाले बिहिबार बंगलादेशसँग पलेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेल्दै प्रतियोगितको सुरुआत गर्नेछ ।

एसियन कप खेल्ने श्रीलंकाको  टोली
दाशुन सनका (कप्तान),पाथुन निशांका, दिमुथ करुणारत्ने, कुशल परेरा, कुशल मेन्डिज(उप–कप्तान), चरिथ असलंका, धनजय दि सिल्भा, सदिरा समराविक्रमा, महेश थिक्सना, दनिथ वेलागाले, मथिसा पथिराना, कशुन रजिथा, दसुन हेमन्था, बिनुरा फर्नान्डो, प्रमोद मदुसन