टेस्ट क्रिकेट

पहिलो टेस्टमा भारत विजयी

काठमाडौं । भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा १ इनिङ र १ सय ४१ रनको फराकिलो जित निकालेको छ ।

वेस्ट इन्डिज दोस्रो इनिङमा १ सय ३० रनमै समेटिएपछि भारत तेस्रो दिनमै विजयी भएको हो ।

वेस्ट इन्डिजका लागि एलिक एथानाजेले २८, जेसन होल्डरले अविजित २०, जोमेल वारिक्यानले १८, जोसुवा डि सिल्भा र अल्जारी जोसेफले समान १३ र रेमन रिफेरले ११ रन बनाए ।

भारतका लागि रविचन्द्रन आश्विनले ७, रविन्द्र जडेजाले २ र मोहम्मद सिरजाले १ विकेट लिए ।

भारतले  ४२१/ ५ को अवस्थामा पहिलो  इनिङ समाप्तीको घोषणा गरेको थियो ।

भारतका लागि डेब्यू गरेका यशस्वी जैसवालले ३ सय ८७ बलमा  १६ चौका र १ छक्काको मद्दतमा १ सय ७१ रनको योगदान गरे । यसैगरी कप्तान रोहित शर्माले २ सय २१ बलमा १० चौका र २ छक्काको मद्दतमा १ सय ३, विराट कोहलीले  १ सय ८२ बलमा ५ चौककाको मद्दतमा ७६ र रविन्द्र जडेजाले अविजित ३७ रन बनाए ।

यशस्वीले पहिलो विकेटका लागि रोहितसँग २ सय २९ र तेस्रो विकेटका लागि विराटसँग ९० रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि एलिक एथानाजे, अल्जारी जोसेफ, केमर रोच, राकिन क्रोनवाल र जोमेल वारिक्यानले समान १ विमेट लिए ।

यसअघि डोमोनिकास्थित विन्डसोर पार्कमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज पहिलो पारीमा  १ सय ५० रनमै समेटिएको थियो ।

जितसँगै भारतले २ खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल २० जुलाई देखि सुरु हुनेछ ।