ललितपुर मेयर्स कप

एपिएफले दियो ललितपुरलाई एक सय ११ रनको लक्ष्य

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स-११ सामू एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि राजमती ऐरीले ५२ बलमा चार चौकाको मद्दतमा अविजि ४१ रन बनाइन् । यसैगरी कप्तान सीता राना मगरले १९ र विनु बुढा मगरले १२ रन जोडे ।

ललितपुरका लागि सिमा केसी र शृष्टि जैसीले समान दुई तथा मनिषा उपाध्याय र  सोनी पाख्र्रिनले समान एक विकेट लिए । 

फाइनलमा स्थान बनाइसकेको एपिएफ आफ्नो विजयी यात्रालाई लिग चरणको अन्तिम खेलमा पनि कायम राख्ने लक्ष्यमा छ । एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताबाट बाहिरिसकेको ललितपुर पनि अन्तिम खेलमा जित निकाल्न चाहन्छ ।  यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो ।