डब्लुपिएल

मुम्बई डब्लुपिएल च्याम्पियन

काठमाडौं । दिल्ली क्यापिटल्सलाई सात विकेटले पराजित गर्दै मुम्बाई इन्डियन्स पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को च्याम्पियन बनेको छ ।

मुम्बईस्थित ब्रेबोन स्टेडियम आइतबार सम्पन्न फाइनलमा दिल्लीले प्रस्तुत गरेको एक सय ३२ रनको लक्ष्य मुम्बईले १९.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

मुम्बईका लागि नाट स्किभर ब्रन्टले ५५ बलमा सात चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ६० रन बनाइन् । कप्तान हरमनप्रीत कौरले ३७, अमेलिया केरले अविजित १४ रन बनाए ।

ब्रन्ट र कौरले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

दिल्लीका लागि राधा यादव र जेस जोनसन समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै एक सय ३१ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि ओपनर तथा कप्तान मेग लनिङले २९ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाइन् । यसैगरी राधा यादव र शिखा पाण्डले अविजित २७ रन जोडे । 

राधा र शिखाले १० औं विकेटका लागि अविजित ५२ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

मुम्बईका लागि इस्सी विंग र हेली म्याथ्युले समान तीन तथा अमेलिया केरले दुई विकेट लिए ।