ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाको कीर्तिमानी जित

काठमाडौं । ओपनर क्विनटन डि कक र रिजा हेन्ड्रिक्सको उत्कृष्ट ब्याटिङप्रेरित दक्षिण अफ्रिकाले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध ६ विकेटको किर्तिमानी जित निकालेको छ ।

सेन्चुरियनस्थित सुपर स्पोर्टस पार्कमा आइतबार सम्पन्न खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको दुई सय ५९ रनको लक्ष्य  दक्षिण अफ्रिकाले १८.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। यो ट्वान्ट-२० अन्तर्राष्ट्रिय इतिहासकै पूरा भएको उच्च योगफल हो ।

यसअघि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो लक्ष्य अस्ट्रेलियाले पूरा गरेको थियो । अस्ट्रेलियाले सन् २०१८ मा न्युजिल्यान्डविरुद्ध दुई सय ४४ रनको लक्ष्य १८.५ ओभरमा पाँत विकेट गुमाउँदै पूरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि डि ककले ४४ बलमा नौ चौका र आठ छक्काको मद्तमा सर्वाधिक एक सय रन जोडे ।  यसैगरी हेन्ड्रिक्सले २८ बलमा ११ चौका र दुई छक्काको मद्दतमा ६८, कप्तान एडिन माक्ररमले अविजित ३८  हेनरिक क्लासेनले अविजित १६, राइली रुस्सोले १६ र डेविड मिलर १० रन जोडे ।

पहिलो विकेटका लागि डि ककले र हन्ड्रिक्सले एक सय ५२ रनको शतकीय साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर, ओडियन स्मिथ, रायमन रिफर र कप्तान रोभम्यान पावेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ५८ रनको योगफल तयार पारेको थियो । यो वेस्ट इन्डिजको ट्वान्टी अन्तर्राष्ट्रियमा उच्च योगफल हो । 

यसअघि सन् २०१६ मा भारतविरुद्ध बनाएको दुई सय ४५ रन वेस्ट इन्डिजका लागि उच्च योगफल थियो ।

वेस्ट इन्डिजका  जोनसन चार्ल्सले ४६ बलमा ११ छक्का र १० चौकाको मद्दतमा सहित एक सय १८ रन जोडे । चार्ल्सले ३९ बलमा शतक प्रहार गर्दै वेस्टद इन्डिजबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गरेका थिए ।

यसअघि अघि क्रिस गेलले सन् २०१६ मा इङल्यान्डविरुद्ध ४७ बलमा पूरा गरेको शतक वेस्ट इन्डिजबाट सबैभन्दा छिटो थियो ।

यसैगरी कायल मायर्सले २७ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ५१,  कप्तान रोमारियो शेफर्डले अविजित ४१, रोभम्यान पावेलले २८ र ओडियन स्मिथले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि चार्ल्स र मेयर्सले एक सय ३५ रनको शतकीय साझेदारी गरेका थिए । मेयर्स रनमा आउट भए ।

दक्षिण अफ्रिका लागि मार्को जेनसनले तीन तथा वायन पार्नेलले दुई  ।

दक्षिण अफ्रिकाको यस जितसँगै तीन खेलको शृंखाला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।