काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सका हरेक खेलाडीको जर्सी वा टोपीमा ऋषभ पन्तको जर्सी नम्बर १७ अंकित गरिने भएको छ ।
क्लबले कार दुर्घटनामा परेर घाइते भएका पन्तको सम्मान स्वरुप यो कदम चालिएको बताएको छ । पन्तले गत सिजन टोलीको कप्तानी गरेका थिए ।
दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले घाइते पन्त जस्तो प्रभाव पार्न सक्ने खेलाडी नभएको बताएका छन् । ‘पन्त बाहिरिनु ठूलो झट्का हो र हामी उनलाई मिस गर्नेछौं। पन्त राम्रा फिनिसर हुन् र उनको ठाउँ अरु कसैले लिन सक्दैन्,'पोन्टिङले भने ।
पन्त ३१ मार्चबाट सुरु हुने आइपिएलमा देखिने छैनन् । उनी गत वर्ष ३१ डिसेम्बरमा दिल्लीबाट रुर्कीमा आफ्नो घर फर्कँदै गर्दा कार दुर्घटनामा परेर गम्भिर घाइते भएका थिए ।
पन्तको घुँडाको शल्यक्रिया भएको छ । उनलाई फिट हुन समय लाग्नेछ। अप्रिल एकमा लखनउ जाइन्ट्ससँग खेल्दै दिल्लीले आइपिएलको सुरुआत गर्नेछ ।
आइपिएलमा दिल्लीको कप्तानी डेविड वार्नरले गर्नेछन् ।