ललितपुर मेयर्स कप

मधेसलाई सुदूरपश्चिमले हरायो

काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशमाथि सात विकेटको जित निकालेको छ ।

यस जितसँगै सुदूरपश्चिमले तीन खेलमा चार अंक जोड्दा लगातार दोस्रो पराजय ब्यहोरेको मधेस अंकविहिन छ । 

यसअघि ललितपुर मेयर्स-११ लाई ५१ रनले हराएको सुदूरपश्चिमले विभागीय टोली नेपाल एपिएफ क्लबसँग १५ रनको पराजय ब्यहोरेको थियो । मधेस एपिएफसँग १० विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा मधेसले प्रस्तुत गरेको ६६ रनको लक्ष्य सुदूरपश्चिमले १०.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

सुदूरपश्चिमका लागि ऋतु कनौजियाले अविजित २१, रुवी पोदारले अविजित १४ र कप्तान विन्दु रावलले १० रन जोडे ।

मधेसका लागि सरस्वतीकुमारी चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेसले १९ ओभरमा सबै विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो ।

मधेसका लागि एलिसा यादव र सरस्वतीकुमारी चौधरीले समान १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि  लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले समान दुई तथा इश्वरी विष्ट र कविता जाेशीले समान एक विकेट लिए ।