ललितपुर मेयर्स कप

मधेसमाथि एपिएफको १० विकेटको जित

काठमाडाैं । मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेसले प्रस्तुत गरेको ५९ रनको लक्ष्य एपिएफले ७.३ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो ।

एपिएफका लागि कप्तान सीता राना मगरले ३६ बलमा नौ चौकाको मद्दतमा अविजित ४५ रन बनाइन् । यसैगरी ज्योती पाण्डे आठ रनमा अविजित रहिन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले १९।४ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो ।

मधेसका लागि साना प्रविनले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि सोनु खड्काले चार, सीता राना मगरले तीन तथा रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक विकेट लिए ।

यसअभि बिहीबार नै सम्पन्न उद्घाटन खेलमा ललितपुर मेयर्स(११ माथि ५१ रनको सानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेशले सुखद सुरुआत गरेको थियो ।