ललितपुर मेयर्स कप

सुदूरपश्चिमको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

यस जितसँगै सुदूरपश्चिमले दुई अंक जोड्दा ललितपुरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिले प्रस्तुत गरेको एक सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो ।

लतिपुरका लागि लक्ष्मी चौधरीले २५, हेलिशा गुरुङले १९ र  कञ्चन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई विकेट लिँदा पाँच विके रन आउटका रूपमा प्राप्त भएको थियो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि सम्झनाले ५४ बलमा ६ चौकाको मद्दतमा अविजित ५१ रन बनाइन् । यसैगरी रुवी पोदारले २८, कविता जोशीले अविजित २७ र कप्तान विन्दु रावलले १८ रन जोडे  ।

तेस्रो विकेटका लागि सम्झना र कविताले अविजित ६७ रनको साझेदारी गरेका थिए ।

ललितपुरका लागि कृतिका मरासिनीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिए ।