काठमाठौं । घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्ध दोस्रो तथा अन्तिम टेस्टमा एक इनिङ र ५८ रनको सानदार जित निकालेको छ ।
यस जितसँगै न्युजिल्यान्डले दुई खेलको टेस्ट शृंखला २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो टेस्टमा न्युजिल्यान्ड दुई विकेटले विजयी भएको थियो ।
वालिङटनस्थिती बसिन रिजर्भ क्रिकेट मैदानमा फलोअनमा परेको श्रीलंकाले दोस्रो इनिङमा तीन सय ५८ रन मात्र बनाउन सक्यो ।
११३/ २ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको श्रीलंकाले थप दुई सय २५ रन बनाउँदा बाँकी आठ विकेट गुमायो ।
श्रीलंकका लागि धनन्जय डि सिल्भाले एक सय ८५ बलमा १२ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ९८ रनको योगदान गरे । यसैगरी दिनेश चाण्डीमलले ६२, कप्तान दिमुथ करुणारत्नेले ५१, कुशल मेन्डिसले ५०, निशान मधुसन्काले ३९ र कासुन रजिथाले २० रन बनाए ।
डि सिल्भाले पाँचौं विकेटका लागि चण्डिमलसँग एक सय २६ तथा छैटौं विकेटका लागि मधुसन्कासँग ७६ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डका लागि ब्लेयर टिकनर र कप्तान टिम साउथीले समान तीन, माइकल ब्रेसवेलले दुई तथा म्याट हेनरी र डोउग ब्रेसवेलले समान एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४८०/ ४ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा एक सय ६४ रनमै समेटिएपछि श्रीलंका फलोअनमा परेको थियो ।