एकदिवसीय क्रिकेट

भारतविरुद्ध अस्ट्रेलिया १० विकेटले विजयी

काठमाडाैं । अस्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय शृंखला अन्तर्गत दोस्रो खेलमा १० विकेटको सानदार जित निकालेको छ ।  

अस्ट्रेलियाको यस जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।

विसाखापटनममा सोमबार सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको एक सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो ।

अस्ट्रेलियाका लागि मिचेल मार्सले ३४ बलमा  समान ६ छक्का र चौकाको मद्दतमा अविजित ६६ रन बनाए । यसैगरी ट्राभिस हेडले ३० बलका १० चौकाकाे मद्दतमा अविजित ५१ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २६ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनको योगफल तयार पारेको थियो ।  

भारतका लागि विराट कोहलीले सर्वाधिक ३१, अक्षर पटेलले अविजित २९, रवीन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १३  रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले पाँच, सेन एबटले तीन तथा नाथन एलिसले दुई विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।