काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालका रविन थापा पराजित भएका छन् ।
पुरुष ४७-५७ केजी तौलसमूहमा उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविनको यात्रा अन्तिम १६ मै सिमित बन्याे । रविनले सोमबार इन्डोनेसियाका कोइबानु डियोलाई ४-१ ले हराउँदै पहिलो चरण पार गरेका थिए ।
रविनको पराजयसँगै बक्सिङमा पुरुषतर्फ नेपालको चुनौती सकिएको छ । हाङझाउमा नेपालबाट कुल १३ खेलाडीको सहभागिता थियो । जसमध्ये पुरुष बक्सिङको चुनौती समाप्त भएको हो । महिलातर्फ पाँच खेलाडी बाहिरी सकेका छन् भने दुईजनाको प्रतिस्पर्धा बाँकी छ ।
आइतबार महिला ५७-६० केजी तौलसमूहमा नेपालकी संगिता सुनार भियतनामकी लिन थी भियासँग ५-० ले पराजित भएकी थिइन् । सोही दिन पुरुष ७१-८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभसँग ५-० ले तथा महिला ५०-५४ केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोशितासँग ५-० ले नै स्तब्ध बने ।
सोमबार महिला ६०-६६ केजीमा बिनीता थापा मगर चाइनीज ताइपेइकी नाइन सेनसँग रेफ्री स्पोट्स कन्टेस्टका आधारमा हार पराजित भइन् । साेही दिन पुरुष ६३.५-७१ केजीमा भारतका निशान्त देवसँग ५-० ले पराजित हुँदा दीपेश लामाको यात्रा अगाडि बढ्न सकेन ।
मंगलबार पुरुष ५२-५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५-० तथा ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित हुँदै बाहिरिए ।
बुधबार महिला ४५-५० केजीमा सुष्मा तामाङ काजकस्तानकी नजिम किजाइबेसँग ५-० ले पराजित भइन् । त्यस्तै पुरुष ५७-६३.५ केजीमा चाइनीज ताइपेका एनचु लालसँग ४-० ले निराश बनेका भुपेन्द्र थापा मगरको यात्रामा पूर्णविराम लाग्यो ।
शुक्रबार महिला ५४-५७ केजीको प्रारम्भिक चरणमा चन्द्रकला थापाले थाइल्यान्डकी पोर्नतीप ब्वापासँग तथा शनिबार ६६-७५ केजीमा सरस्वती रानाले भियतनामकी क्युन दीम लूको सामना गर्नेछन् ।