काठामाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगका लागि लागि थाइल्यान्डको राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको छ ।
ललितपुरले आइतबार सामाजिक सञ्जालमार्फत लिगको दोस्रो संस्करणका लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई सार्वजनिक गरेको हो । ललितपुरले यसअघि थाइल्यान्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरेकाे थियाे।
दारिनसँग थाइल्यान्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई र भियतनामको लिग खेलेको अनुभव छ । उनी सम्मीलित थाइल्यान्डले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्समा कांस्य पदक जितेको थियो ।
उत्सव खड्का प्रशिक्षक रहेको ललितपुरमा सलिना श्रेष्ठ मार्की छिन् । टोलीले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई अनुबन्ध गरेको थियो ।
प्रतियोगिता भदौ २० देखि २८ सम्म पाेखरामा हुँदैछ ।