काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पाँच विकेटले पराजित भएको छ ।
जारी शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।
हारसँगै १८ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । जित निकालेको युएई समान खेलबाट आठ अंकका साथ पुछारमा छ ।
बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
युएइका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रनको योगदान गरे । यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव पराशरले अविजित १६, कप्तान राहुल चोपारा (रिटायर्ड हर्ट) ले १५, हर्षीत कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।
आर्यन्शले चौथो विकेटका लागि मोहम्मदसँग ७६, पहिलो विकेटका लागि अलिसानसँग ७६ तथा तेस्रो विकेटका लागि राहुलसँथ ५६ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पाैडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले रन बनाए ।
रोहितले चौथो विकेटका लागि आरिफसँग ७६ तथा पाँचौं विकेटका लागि दीपेन्द्रसँग ५४ रनको साझेदारी गरेका थिए ।
युएईका लागि जाहिद अलीले चार, जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक विकेट लिए ।
