काठमाडौं । फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले भारतीय मूलका अमेरिकी खेलाडी मिलिन्ड कुमारलाई आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको छ ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा ब्याटिङ अलराउन्डर मिलिन्डलाई भित्र्याएको हो । यसअघि काठमाडौंले दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई अनुबन्ध गरेको थियो । यी दुईमध्ये इरास्मसले गत संस्करण पनि गोर्खाजकै जर्सी लगाएका थिए ।
मिलिन्ड हाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि संयुक्त अरब इमिरेट्स (युएई)मा छन् । नेपालविरुद्ध पहिलो खेलमा मिलिन्डले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७० रन बनाएका थिए । खेलमा अमेरिकाले १०६ रनको फराकिलो जित हासिल गरेको थियो ।
३४ वर्षीय मिलिन्डले अन्तर्राष्ट्रिय क्रिकेटमा २१ ट्वान्टी-२० र २० एकिदवसीय खेल खेलेका छन् ।
काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्दैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
