काठमाडौं । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि तेस्रो विदेशी खेलाडीका रूपमा भारतीय महिला टोलीकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुनबन्ध गरेको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यमजिनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरेको थियो ।
जिनीको कप्तानीमा भारतले गत महिना काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो ।
जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।
मधेशले हालसम्म आठ नेपाली र तीन विदेशी गरी ११ खेलाडी सार्वजनिक गरिसकेको छ ।
मधेश युनाइटेडको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना छिन् । यस्तै राष्ट्रिय टोलीका संगम महतो र शान्तीकला तामाङ तथा यु-२० टोलीका आशिका क्षेत्री र एलिसा मानन्धर पनि मधेशमै छन् ।
मधेशले पूजा थारु, जसना महतो र हीरा केसीलाई अनुबन्ध गरेको छ । यसैगरी भरत यादव मुख्य प्रशिक्षक रहेको टोलीले ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा मधेश युनाइटेड, टिम काठमाडौं, टिम चितवन, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउने छन् ।