काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली मधेश युनाइटेडले पहिलो विदेशी खेलाडीका रूपमा काजकिस्तानी स्पाइकर कालिनोभा यभजिनियालाई अनुबन्ध गरेको छ ।
३५ वर्षिय यभजिनियासँग काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ ।
यभजिनियाले मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताइन् । ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग खेल्न म नेपाल आउँदैछु,’ यभजिनियाले भनिन् । मधेश युनाइटेडबाट खेल्न उत्साहित छु ख हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’
टोलीकी अपरेसन हेड संज्ञा श्रेष्ठले यभजिनियालाई स्वागत गर्दै उनको अनुभवले टोलीलाई धेरै फाइदा पुग्ने प्रतिक्रिया दिइन् ।
मधेश युनाइटेडको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना छिन् । यस्तै राष्ट्रिय टोलीका संगम महतो र शान्तीकला तामाङ तथा यु-२० टाेलीका आशिका क्षेत्री र एलिसा मानन्धरपनि मधेशमै छन् ।
मधेशले पूजा थारु, जसना महतो हीरा केसी लाई अनुबन्ध गरेकाे छ । यसैगरी भरत यादव मुख्य प्रशिक्षक रहेको टोलीले विदेश कोटाबाट दुई र ट्यान्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।