काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आइतबार रसियन टोलीसँग हार ब्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा नेपाल ३-० को साेझो सेटमा पराजित भयो । नेपालले खेल १७-२५, १९-२५, १५-२५ गुमायाे ।
यही खेलमार्फत आरती सुवेदी र सुमित्रा रेग्मीले राष्ट्रिय टोलीका लागि डेब्यू गरे ।
पहिलो सेटको सुरुआती समय नेपालले दुई अंकको अग्रता बनाएको थियो । तर, रसिया खेलमा फर्कियो । अन्त्यमा आठ अंकको अग्रता लिँदै रसियाले पहिलो सेट आफ्नो नाममा लेखायो ।
नेपालले दोस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो सेटको मध्यतिर नेपाल १२-९ अंकले पछाडि पर्दा लगातार पाँच अंक प्राप्त गर्दै दुई अंकको अग्रता लिएको थियो । ब्लक र रिसिभमा फिक्का देखिँदा नेपालले ६ अंकले पछाडि पर्दै सेट गुमायो ।
तेस्रो सेटमा नेपाल पूर्ण रुपमा निरीह देखियो । नेपालले कुनै पनि बेला अग्रता बनाउन सकेन ।
दोस्रो खेल सोमबार हुनेछ। नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण शृंखला भइरहेको हो ।
नेपालले यो मैत्रीपूर्ण शृंखलालाई काभा नेसन्स लिगको तयारीका रूपमा लिएको छ । प्रतियोगिता साउन १९ देखि नेपालमै हुँदैछ ।
प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।