काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आइतबार रसियन टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) कभर्डहलमा खेल साँझ ५ बजे सुरु हुनेछ।
दोस्रो खेल सोमबार हुनेछ। नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।
नेपालले यो मैत्रीपूर्ण खेललाई काभा नेसन्स लिगको तयारीका रूपमा लिएको छ । प्रतियोगिता साउन १९ देखि नेपालमै हुँदैछ ।
प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।
नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि आरती सुवेदी र सुमित्रा रेग्मीलाई पहिलो पटक समेट्दै १४ सदस्यीय टोली घोषणा गरिसकेको छ।
टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट छन् । उनलाई भरत यादव र रुपेश विष्टले सहायक प्रशिक्षकका रूपमा साथ दिने छन् ।
नेपाली टोली
अरुणा शाही(कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी