काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार हेल्प नेपालले खेल २५-२१, २५-२२, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
पाँचौं जितसँगै हेल्प नेपालको ६ खेलबाट १६अंक छ । यसअघि बूढानीलकण्ठलाई ३-१, कोशी, सुदूरपश्चिम एपिएफलाई समान ३-० को सेटमा हराएको हेल्प नेपाल गण्डकीसँग ३-२ को सेटमा पराजित भएको थियो ।
पहिलो पराजय ब्यहोरेको पुलिसको समान खेलबाट १४ अंक छ । यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशीलाई समान ३-०, एपिएफलाई ३-२ तथा आर्मीलाई ३-१ को सेटमा हराएको थियो ।
पुरुषतर्फ नै एपिएफले कोशी प्रदेशविरुद्ध ३-१ को पुनरागमन जित निकाल्यो ।
यसैगरी महिलातर्फ बिहीबार नै सम्पन्न खेलमा न्यु डायमन्डले कर्णालीलाई ३-० र एभरेस्टले एपिएफलाई ३-२ को सेटमा पराजित गरे ।