काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्यु डयमन्ड स्पोर्ट क्लबविरुद्ध ३ २ सेटको रोमाञ्चक जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार आर्मीले दुई सेटले पछि परेको अवस्थालाई उल्टायो ।
सुरुआती दुई सेट २५-२७, २०-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २५-१७, २५-२३, १५-१२ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै आर्मीले चार खेलमा ६ अंक जोडेको छ । यसअघि पुलिससँग ३-२ र एभरेस्टसँग ३-० को सेटमा पराजित भएको आर्मीले कर्णाली प्रदेशविरुद्ध ३ ० सेटको जित निकालेको थियो ।
लगातार चौथो खेलमा पराजित न्यु डायमन्डको एक अंक छ । यसअघि न्यु डायमन्डले एपिएफसँग ३-२, एभरेस्टसँग ३-० र पुलिससँग ३-१ सेटको हार ब्यहोरेको थियो ।
महिलातर्फ बुधबार नै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।