काठमाडौं । गण्डकी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार गण्डकीले बूढानीलकण्ठ भलिबल क्लबविरुद्ध ३-१ सेटको जित निकाल्यो ।
गण्डकीले खेल २५-१४, २२- १५, २५-१५, २५-२२ ले आफ्नो पक्षमा पर्यो ।
लगातार चौथो जितसँगै गण्डकीले चार खेलमा १२ अंक जोडेको छ । चारै खेलमा पराजि बूढानीलकण्ठ अंकविहिन छ ।
यसअघि गण्डकीले एपिएफलाई ३-१ तथा सुदूरपश्चिम र कोशीलाई ३-० ले पराजित गरेको थियो । बूढानीलकण्ठले हेल्प नेपाल,आर्मी र पुलिससँग समान ३-० को हार ब्यहोरेको थियो ।
यसैगरी पहिलो खेलमा पुलिसले कोशी प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । पुलिसले खेल २५-१६, २५-१५, २५ २२ ले आफ्नो पक्षमा पार्यो ।
लगातार चौथो जितसँगै पुलिसले चार खेलमा ११ अंक जोडेको छ । चारै खेलमा पराजित कोशीले अंकको खाता खोल्न सकेको छैन ।
यसअघि पुलिसले सुदूरपश्चिम र बूढानीलकण्ठलाई समान ३-० तथा एपिएफलाई ३-२ ले हराएको थियो । कोशीले यसअघि आर्मी ,हेल्प नेपाल र गण्डकीसँगको खेल समान ३-० को सोझो सेटमा गुमाएको थियो ।