काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा (आज) मंगलबार विभागीय टोलीका पाँचसहित सात खेल हुँदैछन् ।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार, आइतबार र सोमबार पनि महिला तथा पुरुषतर्फ समान ६ खेल भएका थिए ।
चौथो दिन पुरुषतर्फ पहिलो खेल बिहान आठ बजे विभागीय टोली नेपाल पुलिस क्लब र कोशी प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ । त्यसपछि गण्डकी प्रदेश भलिबल एसोसिएसनले बुढानीलकण्ठ भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
दिउँसो १२ बजे अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम खेलकुद परिषद् र त्यसपछि हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ने छन् ।
पुरुषतर्फ तेस्रो खेलसम्म अपराजित रहँदै हेल्प नेपाल, आर्मी, पुलिस र गण्डकीले समान ९ अंक जोडेका छन् । सेटको आधारमा हेल्प नेपाल पहिलो, आर्मी दोस्रो, पुलिस तेस्रो र गण्डकी चौथो स्थानमा छन् ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले एक अंक जोड्दा सुदूरपश्चिम, कोशी र बूढानीलकण्ठ अंकविहीन छन् ।
पुरुषतर्फको खेल सक्किएसँगै अपरान्ह्र चार बजेदेखि महिलातर्फका खेल सुरु हुने छन् । पहिलो खेलमा एभरेस्ट भलिबल क्लब र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुने छ । यो खेल सकिएसँगै विभागीय डर्बीमा पुलिस र एपिएफ क्लब भिड्ने छन् । यो खेल बेलुका ६ बजे सुरु हुने छ । मंगलबारको अन्तिम खेलमा आर्मीले कर्णाली खेलकुद विकास परिषद्सँग खेल्ने छ ।
महिलातर्फ दुई खेलमा अपराजित रहेको एभरेस्ट ६ अंकसहित शीर्षस्थानमा छ । दुई खेलमै अपराजित रहेको पुलिस र एपिएफ भने समान पाँच अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । न्यू डायमन्ड र आर्मीको समान एक अंक रहेको छ भने कोशी अंकविहीन छ ।