काठमाडौं । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सोमबार महिलातर्फ दुई र पुरुषतर्फ चार खेल हुनेछ ।
महिलातर्फ विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ र कर्णाली प्रदेश भिड्ने छन्। यो खेल बिहान ८ बजे सुरु हुने छ।
एपिएफ लगातार दोस्रो जितको खोजीमा रहँदा कर्णाली पहिलो जित चाहन्छ । पहिलो खेलमा एपिएफले न्यु डायमन्डलाई ३-२ को सेटमा पराजित गर्दा कर्णाली एभरेस्ट भलिबल क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
१० बजे हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्बलले अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्नेछ।
एभरेस्ट लगातार दोस्रो तथा आर्मी पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा एभरेस्टले कर्णालीलाई ३-० को सेटमा पराजित गर्दा अर्मीले पुलिससँग ३-२ सेटको हार ब्यहोरेको थियो ।
पुरुषतर्फ १२ बजे विभागीय टोली नेपाल पुलिस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्ने छन्।
पुलिस लगातार तेस्रो जितको लक्ष्यमा रहँदा बूढानीकण्ठ पहिलो जितको खोजीमा छ । यसअघि पुलिसले सुदूरपश्चिमलाई ३-० र एपिएफलाई ३-२ ले पराजित गरेको थियो । बूढानीलकण्ठले हेल्प नेपाल र आर्मीसँग समान ३-० को हार ब्यहोरेको थियो ।
दिउँसो २ बजे हेल्प नेपाल स्पोर्टस क्लब र सुदूपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
हेल्प नेपाल आफ्नो अपराजित यात्रालाई तेस्रो खेलसम्म पनि कायम राख्न चाहन्छ । सुदूरपश्चिम पहिलो जितको लक्ष्यमा छ ।
हेल्प नेपालले यसअघि बूढानीलकण्ठ र कोशीलाई समान ३-० को सोझो सेटमा हराएको थियो । सुदूरपश्चिम पुलिस र गण्डकीसँग समान ३-० कै सेटमा पराजित भएको थियो ।
अपरान्ह्र चार बजे विभागीय डर्बीमा आर्मी र एपिएफ भिड्ने छन्। आर्मी लगातार तेस्रो जितको लक्ष्यमा रहँदा एपिएफ पहिलो जित निकाल्न चाहन्छ ।
यसअघि आर्मीले बूढानीलकण्ठ र कोशीलाई समान ३-० को सेटमा पराजित गरेको थियो । एपिएफले गण्डकीसँग ३-१ र पुलिससँग ३-२ सेटको हार ब्यहोरेको थियो ।
दिनको अन्तिम खेलमा गण्डकी प्रदेश र कोशी प्रतिस्पर्धा गर्नेछन्। यो खेल बेलुका ६ बजेबाट सुरु हुने छ।
गण्डकी आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राख्न चाहन्छ । यसअघि गण्डकीले एपिएफलाई ३-१ र सुदूरपश्चिमलाई ३-० ले पराजित गरेको थियो ।
यता कोशी पहिलो जितको खोजीमा छ । कोशीले यसअघि आर्मी र हेल्प नेपालसँग समान ३-० को हार ब्यहोरेको थियो ।