काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
यसैगरी महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि ३ लाख रुपैयाँ प्रदान गर्ने जानकारी दियो ।
पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।
यो नेपाली खेलाडीले ओलम्पिकमा जितेको अहिले सम्मकै ठूलो पदक हो ।
पलेशासहितको तेक्वान्दो टोली बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । पलेशासहितको टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमासहित स्वागत गरेको छ ।
विमानस्थलबाट सुरु भएको र्याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिएको थियो ।
गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।
रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।
रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् ।