काठमाडौं । प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु-१२ गर्ल्स सिंगल्समा स्वर्ण पदक जितेकी छन् ।
बिहीबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्राज्नाले आदर्श विद्या मन्दिर (एभिएम) की साइरा शाक्यलाई ३-१ ले पराजित गरिन् । एभिएमकी तया बुङमा राई र जेम्सकी सुहाना महर्जन तेश्रो भए ।
रेड टाइल्सको आयोजनामा भइरहेको प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा गण्डकी विश्वविद्यालयका गनन्जय दाहाल र क्याननका हिमाल विष्ट उपाधि नजिक पुगेका छन् ।
सेमिफाइनलमा गनन्जयले गोल्डेनगेटका सुजन गडाललाई ३-१ तथा हिमाल विष्टले सिड एकेडेमीका प्रवेश बस्नेतलाई ३-० ले निरास बनाए ।
सोही विधाको महिलामा एभिएमकी इभाना थापाले आफ्नै स्कुलकी आश्मा पहरीलाई ३-० तथा रिड मोडेलकी सुस्मिता खड्काले एभिएमकी वियंका राईलाई ३-१ ले निरास बनाउँदै फाइनलमा स्थान पक्का गरे ।