काठमाडौं । आयोजक लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशलाई सडन डेथमा ४-३ ले निरास पार्दै संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलको निर्धारित समय गोलरहितमा समाप्त भएको थियो । पेनाल्टी सुटआउटमा गोलकिपर दीपक कार्की नायक बन्दा संकटाको जित सम्भव भएको हो । बागमतीका दुई पेनाल्टीलाई विफल पारेका दीपले एक गोल समेत गरे ।
पेनाल्टीमा संकटाका लागि लछ्छु थापा, साम कार्लोस, दीप , सुनिल खड्काको प्रहार सफल रहँदा राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले बचाएका थिए ।
बागमतीका लागि नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार दीपले बचाएका थिए । रजत तिवारीको प्रहार आकाशिएको थियो ।
जितसँगै संकटाले ट्रफीसहित २६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको बागमतीले १३ लाख रुपैयाँमा चित्त बुझायो ।
यसअघि संकटाले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ३-० ले हराएको थियो । सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ८–७ ले पराजित गर्दै संकटाले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
बागमतीले क्वार्टरफाइनलमा नेपाल पुलिसलाई २-१ ले पराजित गर्दा सेमिफाइनलमा न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा ४-२ ले निराश पारेको थियो ।