काठमाडौं। सभापति कप फुटबलको पहिलो संंस्करणको उपाधिका लागि बिहीबार ‘ए’ डिभिजन क्लब संकटा र आयोजकको टोली लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश प्रतिस्पर्धा गर्दैछन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका थिए ।
संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन भइरहेकाले टोली उच्च मनोबलका साथ मैदान उत्रिने प्रतिक्रिया दिए ।
‘अघिल्ला दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छौं । त्यसैले पनि टोलीको मनोबल उच्च छ । हामीले विपक्षीको खेललाई पनि नजिकबाट नियालेका छौं । फाइलनमा त्यही अनुरुपको रणनिति हुनेछ,’ प्रशिक्षक शिलाकारले भने ।
यसैगरी, आयोजक टोलीका कप्तान विकेश कुथुले संकटा उत्कृष्ट टोली भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताए ।
‘संकटा बलियो टोली हो । तर हामी पनि कमजोर छैनौं । फाइनलमा चुनौती दिनका लागि तयार छौं,’ विकेशले भने ।
संकटा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८-७ र बागमती एनआरटीलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतिायेगिताको सर्वोकृष्ट खेलाडीले ७५ हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार र उदीयमान खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
फाइनलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । यसअघि १०० र २०० तोकिएकोमा फाइनलका लागि साधारणतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ ।