ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

जेबी र ज्ञान निकेतन विजयी

सांकेतिक तस्बिर

काठमाडौं । जेबी इङलिस स्कुल र ज्ञान निकेतनले १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित निकालेका छन् । 

जेबीले आइतबार सम्पन्न खेलमा दिव्यज्ञानलाई ३५-१५ ले पराजित गरेको हो। जेबीको जितमा विकास डंगालेले १८ अंक योगदान गरे । आयुश रावलको १२ अंक सहयोगमा ज्ञान निकेतनले बिग बुद्धलाई ३२-१८ ले हरायो ।

सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले काठमाडौं भ्याली, रानीवनलाई ४७-४३, ब्राइट होराइजनले एनआईसी एकेडेमीलाई ३६-१४ र राइजिङ स्टारले आयोजक ग्रिनफिल्ड नेसनल स्कुल ‘बी’ लाई २६-१५ ले हराए । पिपुल्सका राकेश भुजेलले १५, ब्राइट होराइजनका ज्योतिषबहादुर शाहीले १८ र राइजिङ स्टारका समित बलामीले ८ स्कोर गरे ।

सिनियर गर्ल्समा महामञ्जुश्रीले ग्रिनफिल्ड ‘ए’ लाई २२-११, पिपुल्सले जेबीलाई १८-१४ र भ्याली पब्लिकले ब्राइट होराइजनलाई ३१-१२ ले स्तब्ध बनाए । महामञ्जुश्रीकी निलम तामाङले ६, पिपुल्सकी अन्जु थापाले ७ र भ्याली पब्लिककी लोरिशा गौचनले १७ अंक जोडे ।

जुनियर ब्वाइजमा ज्ञान निकेतनले नेपाल प्रहरी स्कुललाई ३६-१८ तथा महामञ्जुश्रीले त्रिज्योतिलाई २४-१८ ले पराजित गरे । ज्ञान निकेतनका दिप्सन अधिकारीले १२ तथा महामञ्जुश्रीका अभिषेक पौडेले ८ अंक बटुले ।