नेपाली खेलकुद

विपन्नलाई खेलकुदमा अवसर दिलाउँदै ‘अल फोर बल’

काठमाडौं । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा असार २९ गते शुक्रबार दिउँसो ३ बजे उमेर समूहको फुटबल प्रतियोगिता हुँदै थियो । पहिलो पटक आयोजित एन्फा यु–१६ लिगको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै थिए ।

त्यही बेला एन्फा मुख्यालयको साढे एक किलोमिटर मात्र पर रहेको हात्तीवनस्थित नेपाल स्पोर्टस  फेलोसिप (एनएसएफ) को मैदान पनि फुटबलमय नै थियो । एनएसएफ त्यही मैदान हो, जहाँ सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन चर्च ब्वाइज युनाइटेडले प्रशिक्षण गर्छ ।

बिहान पानी परेकाले मैदान भिजेको थियो । घाँस नभएका भागहरू हिलाम्ये थिए । यसबीच करिब ४५ विद्यार्थी फुटबल प्रशिक्षणमा व्यस्त थिए । उनीहरू रमाइरहेका थिए । यिनै विद्यार्थीलाई प्रशिक्षण गराउँदै थिए, नेपाली क्लब फुटबलका उदीयमान प्रशिक्षक निशान श्रेष्ठ । उनीसँगै थिए धादिङ जिल्ला फुटबल संघ मातहत रहेका युवा प्रशिक्षक रवि भण्डारी र उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका नीरन्जन मल्ल ।

करिब ४५ मिनेट फुटबल खेलको आधारभूत सीप प्रदान गरिसकेपछि निशान, रवि र नीरन्जनले समापन सत्रमा आफ्ना अनुभवहरू विद्यार्थीमा साटे । सोधिएका प्रश्न र जिज्ञासाको जवाफ दिए । सबैलाई तीनै जनाले स्पोर्टस लिडर ब्याच हस्तान्तरण गरे । त्यसपछि आयोजकबाट अतिथिलाई दिइने मायाको चिनो ग्रहण गरे अनि औपचारिक रूपमा समापन भयो दुई दिने ‘खेलकुदमार्फत युवा नेतृत्व’ कार्यक्रम ।

नेतृत्व विकासमार्फत विद्यालयमा खेलकुद गतिविधि प्रभावकारी ढंगमा सञ्चालन गर्ने उद्देश्यसहित  ‘अल फोर बल’ संस्थाले असार २८ र २९ गते दुई दिने ‘खेलकुदमार्फत युवा नेतृत्व’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाबाट ४, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाबाट समान एक विद्यालयका विद्यार्थी र खेल संयोजक शिक्षकहरूले सहभागिता जनाएका थिए ।

पहिलो दिन महालक्ष्मीस्थित श्री भानोदय आधारभूत विद्यालयमा उद्घाटन समारोह गरिएको थियो । भानोदय प्रशिक्षणमा सहभागी विद्यालयमध्ये एक हो । समारोहमा नगरपालिका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल प्रमुख अतिथि थिए । नगरपालिकाका सबै विद्यालयमा खेलकुदलाई समेट्न अल फोर बल संस्थाले आवश्यक सहकार्य गर्ने सन्देश दिन समारोह गरिएको थियो ।

सोही दिन दिवासत्रमा विद्यार्थीलाई सिद्धिपुरस्थित रोयल बास्केटबल एकेडेमीमा अवलोकनका लागि लगिएको थियो । त्यही अवसरमा उनीहरूले वर्तमान पुरुष राष्ट्रिय बास्केटबल सहायक प्रशिक्षक नृपेश श्रेष्ठ र स्टार खेलाडी विनोद महर्जनबाट बास्केटबल खेलको आधारभूत सीप सिक्ने मौका पाए । प्रशिक्षक नृपेश र विनोदले उनीहरूलाई खेलमार्फत कसरी नेतृत्व विकास गर्न सकिन्छ भन्ने प्रशिक्षण प्रदान गरेका थिए ।


दोस्रो दिन बिहान नेपाल ओलम्पिक कमिटीको सभाहलमा कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य र कार्यकारी सचिव सुजनलाल श्रेष्ठसँग अन्तरक्रिया गर्दै कार्यक्रम सुरु भयो ।

त्यसपछि बालबालिकालाई सातदोबाटोस्थित नेपाल ओलम्पिक संग्रहालय, टेनिस कोर्ट, एन्फा मुख्यालय र पौडीपोखरीको अवलोकन गराइएको थियो । त्यसपछिका कार्यक्रम एनएसएफ स्पोर्टस कम्प्लेक्समा भयो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी विक्रम लामाले फुटबल खेल्दाको चुनौती, अनुभव र अविस्मरणीय क्षणहरू बताउँदै विद्यार्थीलाई फुटबल खेल्न प्रोत्साहित गरेका थिए ।

प्रशिक्षक निशान श्रेष्ठले आधारभूत प्रशिक्षण दिनुअघि बिहानै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी विक्रम लामाले फुटबल खेल्दाको चुनौती, अनुभव र अविस्मरणीय क्षणहरू बताउँदै विद्यार्थीलाई फुटबल खेल्न प्रोत्साहित गरेका थिए ।

सहभागी सबै अवसर नपाएका बालबालिकाहरू हुन् । यिनै विद्यार्थीलाई ‘अल फोर बल’ले एक्सपोजर दिइरहेको छ । वास्तवमा यस किसिमको एक्सपोजर दिनु  ‘अल फोर बल’ का लागि चिन्ताको विषय नहुनुपर्ने थियो । चिन्नु न जान्नु भनेझैं । यो गरेर संस्थालाई के कस्तो लाभ हुन्छ ? किन ‘अल फोर बल’ ले विपन्न विद्यार्थीका लागि यस किसिमको कार्यहरू गरिरहेको छ त ?

कथा लामो छ । उद्देश्यमूलक नै छ ।

‘अल फोर बल’, यसका लक्ष्य र उद्देश्यहरू

 आमा–छोराले स्थापना गरेको गैरनाफामूलक संस्था हो ‘अल फोर बल’, जसले नेपाली समुदायका विपन्न वर्गका युवा विद्यार्थीका लागि खेलकुद क्षेत्रमा अवसर प्रदान गरी सुनौलो भविष्य निर्माणमा प्रयत्न गरिरहेको छ । लीना बस्नेत संस्थाका संस्थापक हुन् भने उनका १६ वर्षीय छोरा सहसंस्थापक छन् ।

‘अल फोर बल’ ले खेलकुद क्लिनिक, खेलकुद पुस्तकालय, खेलकुद छात्रवृत्ति, खेलकुद प्रशिक्षण र खेलकुद पूर्वाधार गरी पाँचवटा कार्यक्रम सञ्चालन गर्दछ । जसलाई पाँच छाता भनेर भनिन्छ ।

संस्थाले ६ सरकारी विद्यालयमा २०० भन्दा बढी जर्सी उपलब्ध गराइसकेको छ । १०० भन्दा बढी अरू खेलकुद सामग्रीहरू प्रदान गरिसकेको छ ।

खेलकुद क्लिनिक भन्नाले सम्पर्कमा रहेका व्यावसायिक प्रशिक्षकहरू ल्याएर विद्यार्थीलाई पहिलो पटक फुटबल के हो भनेर चिनाउने र आधारभूत प्रशिक्षण दिनु हो । उदाहरणका रूपमा अहिले बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले पाटनमा रहेको ललित कल्याण केन्द्र आधारभूत विद्यालयमा स्वेच्छाले विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन् ।

खेलकुद पुस्तकालय भन्नाले विद्यार्थीलाई आवश्यक जर्सी पोसाक उपलब्ध गराउनु हो । संस्थाले ६ सरकारी विद्यालयमा २०० भन्दा बढी जर्सी उपलब्ध गराइसकेको छ । १०० भन्दा बढी अरू खेलकुद सामग्रीहरू प्रदान गरिसकेको छ ।

खेलकुद छात्रवृत्तिमा यस संस्थाले सम्भावना भएका विद्यार्थीलाई थप अवसरहरू दिने गर्दछ । उदाहरणका लागि गत वर्षमात्र संस्थाले अमेरिकी सरकारद्वारा सञ्चालित ‘स्पोर्ट्स भिजिटर प्रोगाम’ मा भानोदय आधारभूत विद्यालयबाटै विनिता तामाङलाई दुई हप्ते नेतृत्व प्रशिक्षणका लागि अमेरिका पठाएको थियो । अमेरिकाबाट फर्किएपछि विनिता जस्तोसुकै अवस्थामा पनि जनमानसबीच नडराई बोल्न सक्ने भएकी छन् ।

संस्थाले गत वर्ष एक लाख लगानीमा महालक्ष्मी नगरपालिकाका १२ विद्यालयका छात्रालाई बालिका सशक्तीकरणको नारा बोकेर फुटबल प्रशिक्षण दिएको थियो । सोही प्रशिक्षणबाट सम्भावना भएका खेलाडीहरू छानेर संस्थाले महिला फुटसल टोली बनाएको थियो । विनिता उक्त टोलीकी कप्तान थिइन् । उनकै नेतृत्वमा टोलीले लेजेन्ड फुटसलद्वारा आयोजित वडास्तरीय छात्रा फुटसल प्रतियोगिता खेल्यो । टोलीले उपाधि भने जित्न सकेन । तर, विनिताको लोभलाग्दो प्रदर्शनमा टोलीले तेस्रो स्थान हासिल गर्यो । लेजेन्डमा गरेको प्रदर्शनकै कारण विनिताले अमेरिका जाने सौभाग्य पाएकी थिइन् ।

पाँच छातामध्ये एक खेलकुद प्रशिक्षण भन्नाले विभिन्न खेलका आधारभूत सीप प्रदान गरेर विद्यार्थीमा नेतृत्व विकास गर्नु हो । अन्तिममा खेलकुद पूर्वाधार भनेको सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार निर्माण गर्नु हो । यस संस्थाले अहिलेसम्म चारवटा बास्केटबल कोर्ट निर्माण गरिसकेको छ । भानोदयमा फुटबल मैदान निर्माण गरेको उसले केही विद्यालयमा टेबलटेनिस बोर्ड पनि प्रदान गरेको थियो ।

कसरी सुरु भयो ‘अल फोर बल’
संस्थापक लीना बस्नेत अमेरिका बस्न थालेको २० वर्ष भइसक्यो । लगनखेल घर भएकी लीना ‘अर्बान प्लानिङ’मा स्नातकोत्तर गर्न अमेरिका पुगेकी थिइन् । अमेरिकाको फ्लोरिडामै लिनाले प्रवीण बस्नेतसँग घरजम गरिन् । अहिले उनीहरूका दुई सन्तान छन् । दुवै छोरा । दुवै अमेरिकामा फुटबल खेल्छन् । कान्छा छोरा आरोन त झन एलाइट टिमबाट खेल्छन् । स्टेट लेभलको प्रतियोगिता खेलिरहेका आरोन अहिले वेस्ट पाइन्स युनाइटेडको यु–१७ टिममा छन् ।

६ वर्षअघिको कुरा हो । राति खाना खाने बेलामा लीना दुई छोरालाई नेपाल र नेपाली विपन्न वर्गका विद्यार्थीका व्यथाहरू सुनाउँदै थिए । आरोन सुनिरहेका थिए । त्यही क्रममा आरोनलाई लाग्यो, नेपालमा अवसर नपाएका विद्यार्थीलाई सहयोग गर्नुपर्छ ।

आरोन सधैं नेपाली विद्यार्थीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोच्थे । त्यही वर्ष लीना छुट्टी मिलाएर परिवारसहित नेपाल आएकी थिइन् । नेपाल आउँदा लीनासँगै छोरा भानोदय आधारभूत विद्यालय गएका रहेछन् । त्यतिबेला भानोदय बन्द हुने अवस्थामा थियो । विद्यार्थी पनि २० जनामात्र थिए । दयनीय अवस्थाबाट गुज्रिरहेको भानोदयमा लीनाले केही खेलकुद सामग्री उपलब्ध गराइन् ।

खेलकुद सामग्री दिएको एक वर्षपछि भानोदयमा त्यसको प्रभाव देखियो । बच्चाहरू खेल्नलाई भए पनि विद्यालय पुग्न थाले । यो कुरा सुनेपछि आरोनलाई थप सहयोग गर्ने हौसला मिल्यो । त्यसैले आफ्नो एघारौं जन्मदिनमा आरोनले साथीभाइबाट उपहार माग्नुको सट्टा थोरै थोरै पैसा जम्मा गरे । एक हजार अमेरिकी डलर जम्मा भयो । आरोनले जम्मा गरेको पैसा भानोदयको थप स्तरोन्नतिका लागि प्रयोग गर्ने योजना बनाए ।

छोराको लगाव देखेर लीनाले पनि आरोनको योजनामा खुलेरै साथ दिइन् । लीना खेलकुदमय वातावरणमा हुर्केकी व्यक्तित्व हुन् । उनका काका पदमकृष्ण श्रेष्ठ नेपालकै पहिलो राष्ट्रिय फुटबल प्रशिक्षकमध्ये एक थिए । भाइ (पदमका छोरा) परेशकुमार श्रेष्ठ पूर्वराष्ट्रिय बास्केटबल खेलाडी हुन् । ठूलो बुवाकै छोरी एलिना श्रेष्ठ पूर्वराष्ट्रिय टेनिस खेलाडी हुन् । त्यसैले खेलकुदबाटै नेपाली विपन्न विद्यालय र त्यहाँका विद्यार्थीलाई सहयोग गर्ने आरोनको योजनामा लीनाले दोहोरो प्रश्न गरेनन् । त्यहींबाट भयो ‘अल फोर बल’ को जन्म ।

सन २०१८ मा लिनाले फेरि नेपाल आउन लागेको कुरा कोल्याब स्कुल नेटवर्क (सिएसएन)का निर्देशक सगेन्द्र श्रेष्ठलाई सुनाए । भानोदय विद्यालयको अवस्थाबारे अवगत भएका श्रेष्ठले भानोदय चौरमा देखिएको समस्याबारे सुनाए । चौरमा पानी जम्ने समस्या भएका र विद्यार्थीले खाली खुट्टा खेल्दा समस्या हुने कुरा श्रेष्ठले सुनाए ।

नेपाल पुगेपछि ‘अल फोर बल’ले सर्वप्रथम चौरको स्तरोन्नति गरेको थियो ।

हामीले पूर्वराष्ट्रिय खेलाडीद्वय नवीन न्यौपाने र राजेश शाहीलाई ल्याएर दुई-तीन घण्टाको फुटबल प्रशिक्षण दियौँ ।

‘दुई हप्तामा हामीले चौरको स्तरोन्नति गयौं । हामीले बनाइसकेपछि नजिकैको ब्याडमिन्टन क्लबहरू पनि आउन थाल्नुभयो । समुदायको मान्छे पनि आउनुभयो । त्यो विद्यालय एकदमै परिवर्तन भयो,’ लीनाले भनिन्, ‘अर्कोचोटि आउँदा हामीले पूर्वराष्ट्रिय खेलाडीद्वय नवीन न्यौपाने र राजेश शाहीलाई ल्याएर दुई-तीन घण्टाको फुटबल प्रशिक्षण दियौँ ।’

अनौपचारिक रुपमा ५ वर्षअगाडि सुरु भएको ‘अल फोर बल’ सन् २०२१ अक्टोबर २१ मा औपचारिक रूपमा स्थापना भयो । ‘सबै युवाका लागि खेलकुद’ मन्ने मूल नारा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेकै खेलकुदमार्फत युवा नेतृत्वको विकास होस् भन्ने हो । अहिले संस्थामा विभिन्न ठाउँका १० युवा राजदूत छन् । एक त आरोन भइहाले, अरु हुन् रुजुला श्रेष्ठ, रोहन श्रेष्ठ, निर्भय प्रधान, प्रनभ श्रेष्ठ, रैमा प्रधान, जाना मल्ल, सिद मल्ल, जष्मीन स्थापित र इशारा श्रेष्ठ । यी युवा राजदूतहरुले संस्थाको मातहतमा रहेर कुनै एउटा परियोजनाको नेतृत्व गर्ने गर्छन् ।यसका लागि उनीहरुले आफै रचनात्मक तरिकाले आवश्यक कोष सङ्कलन गर्छन् ।

लीना र आरोनसँगै ६ सदस्यीय टोलीले सम्पूर्ण कार्यहरू सम्हालिरहेका छन् । संस्थाको कोषाध्यक्षमा सर्जु राजभण्डारी, सचिवमा रपना श्रेष्ठ, निर्देशकमा सगेन्द्र श्रेष्ठ र खेलकुद संयोजकमा राजेन्द्र देशार छन् ।

डा.ईशा श्रेष्ठ ‘अल फोर बल’ नेपाल च्याप्टरकी अध्यक्ष हुन् । संस्थाको प्रवद्र्धकमा थ्री स्टार क्लबका पूर्वव्यवस्थापक अतिशकुमार श्रेष्ठ छन् । त्यस्तै सल्लाहकारमा पूर्वराष्ट्रिय गल्फ खेलाडी चन्दन श्रेष्ठ र पूर्वराष्ट्रिय फुटबल खेलाडीद्वय राजन रायमाझी र वसन्त थापा छन् ।
 

‘अल फोर बल’ भर्खरै वामै सर्दै गरेको संस्था हो । संस्था तबमात्र अगाडि बढ्छ, जब आर्थिक र नैतिक रूपमा उसले सहयोगी हातहरू पाउँछन् ।  आउने ‘अल फोर बल’ दिनमा कसरी अगाडि बढ्नेछ ? उसले सहयोगी हातहरू पाउनेछ कि पाउने छैन ? लङ रनमा कहाँसम्म जाला ?, त्यो त संस्थाले काम गर्दै जाँदा नै थाहा हुनेछ । तर, एउटा कुरा संस्थाको उद्देश्य राम्रो छ । युवा नेतृत्व विकासमा संस्थाले सकारात्मक प्रभाव पार्दैछ/ पार्नेछ ।

‘अल फोर बल’लाई अब चाहिने भनेको खेलकुद संघ र स्थानीय सरकारको साथ हो । मन जित्ने काम त गरिरहेको छ नै । शीर्ष डिभिजन क्लब सम्हालिसकेका निशान श्रेष्ठले एनएसएफ मैदानमा खेलाडी डटकमसँग भनेका थिए, ‘मैले सामाजिक सञ्जालमा लीना दिदीको पोस्टहरू हेरिरहेको हुन्थें । एकदमै आकर्षक हुन्थ्यो । कहिले के दान गरिराख्ने, कहिले के । यो देखेर मैले आफैंले दिदीलाई म्यासेज गरेको हो । दिदीको मुख्य उद्देश्य मलाई एकदमै राम्रो लागेको थियो । यो कार्यक्रम गर्ने भनेर हामीले एक वर्ष अघिदेखि योजना बनाएका थियौं । अहिले आएर बल्ल सफल भएको हो ।’