फुटबल

महिला फुटबलमा पुलिसको कम्तिमा रजत पक्का

फाइल तस्वीर ।

वालिङ । प्रदेश १ लाई ३–० गोलको नतिजामा पराजित गर्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । मंगलबार स्याङ्जाको वालिङमा भएको खेलको १३औं मिनेटमा रेखा पौडेलले गरेको गोलसँगै पुलिसले अग्रता लिएको थियो ।

त्यसको ६ मिनेट नबिन्दै निर्मला बिकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पूर्वी नेपालको टिममाथि हाबी बनेको पुलिसका लागि निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी रहँदा निर्मला उपाध्ययाले तेस्रो गोल गरेकी थिइन् ।

जितसँगै फाइनलमा पुगेको पुलिसले कम्तिमा रजत पदक पक्का गरेको छ । मंगलबार नै हुने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको सेमिफाइनलको विजेतासँग पुलिसले कात्तिक ३ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।