सहिद स्मारक सी डिभिजन लिग

स्वयम्भुको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भु क्लबले पहिलो जित निकालेको छ ।

लिगअन्तर्गत सोमबारको पहिलो खेलमा स्वयम्भुले समाज कल्याण खेलकुद केन्द्रलाई २–० ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सातौं मिनेटमा विजय श्रेष्ठले गरेको गोलबाट स्वयम्भुले अग्रता बनाएको थियो । यस्तै, ७५औं मिनेटमा नरेश राईले गोल गर्दै स्वयम्भुको जित निश्चित गरे ।

जितसँगै लिगमा सात खेलबाट ६ अंक जोडेको स्वयम्भु तालिकाको १०औं स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट १० अंक जोडेको समाज कल्याण छैटौं स्थानमा यथावत् छ ।

लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।