झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट भएको तीन महिनाको निलम्बन तत्काल फुकुवा गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार झापाको धुलाबारीमा भएको भेलामा बोल्दै अध्यक्ष नेम्वाङले भने, ‘राखेपले जुन निलम्बन गरेको छ । बिता सर्त तत्कालन फुकुवा गर्नुपर्छ ।’ राखेपले बुधबार एन्फामाथि आगामी तीन महिनाको लागि निलम्बन गरेको छ ।
पटक पटक गरेको आग्रहलाई एन्फा नेतृत्वले अटेरी गरेपछि राखेपले २४ घण्टाको प्रष्टिकरण सोध्दै निलम्बन गरेको हो । राखेपले प्रदेश र जिल्ला तहगत निर्वाचन गरेर ९ बुँदा संशोधन गरेमात्रै निलम्बन फुकुवा गर्ने प्रष्ट पारिसकेको छ ।
राखेपले निलम्बन गरेपछि आज (चैत्र १३) गतेलाई तय भएको चुनावी साधारणसभा तत्काललाई स्थगित गरिएको छ । सरकारले प्रहरी परिचालन गरेरै साधारणसभा रोक्ने चेतावनी दिएपछि तत्काललाई स्थगित गरेको भेलामै महासचिव किरण राईले बताएका छन् ।
महासचिव राईले दुई तिहाई सदस्य निर्वाचनको पक्षमा रहेर झापा आइपुगेको अवस्थामा निर्वाचन रोक्नुपर्ने बाध्यकारी अवस्थामा आएको बताएका छन् । महासचिव राईले नेपाली फुटबल चलाउन अब एन्फासँग वैधानिकता नरहेको बताउँदै सबै गतिविधि राखेपले गर्नुपर्ने धारणा राखेका थिए ।
