झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल, फिफा सिरीजअन्तर्गत नेपाली महिला फुटबल टोलीको थाइल्यान्ड भ्रमण र लाइनमा रहेका मोफसल गोल्डकपको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद (राखेप)ले लिनुपर्ने बताएका छन् ।
शुक्रबार झापामा भएको भेलामा बोल्दै राईले भने,‘हामी निलम्बित भइसकेका छौं । हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि श्रम स्विकृतिको माग स्थिति सामान्य हुँदा नै गरेका थियौं । तर, अझै पनि त्यसको जवाफ आइसकेको छैन । अब लाओस, महिला फिफा सिरीज र आउँदै गरेको मोफसल प्रतियोगिताका गोल्डकपको सम्पूर्ण जिम्मेवारी राखेपको भयो ।’
‘लाओस आइतबार उड्नुपर्ने छ । फिफा सिरीजपछि भारतमा साफ च्याम्पियनसिप हुँदैछ । त्यसको पनि निर्णय लिनु होला,’ राई बोले ।
त्यस्तै एन्फाले सञ्चालन गर्दै आएको चारवटा एकेडेमीका बारेमा पनि राईले सम्बोधन गरे । अब ऐकेडेमीको जिम्मा पनि राखेपको रहेको राईको तर्क थियो ।
‘देशभर हाम्रो महिला र पुरुषगरि चारवटा एकेडेमीहरु छन् । यी एकेडेमीहरुलाई हामीले अब कसरी चलाउने ? अब यसको जिम्मेवारी पनि राखेपलाई नै दिन चाहन्छौं,’ राईले भने ।
राखेपले निलम्बन गरेपछि एन्फा नेतृत्व आज जसरी पनि साधारणसभा गर्ने तयारीमा थियो । तर, सरकारले प्रहरी नै परिचालन गर्ने संकेत पाएपछि एन्फाले अघिल्लो रात मात्रै साधारणसभा स्थगित गरेको छ ।
