काठमाडौं । साफ यु-२० च्याम्पियनसिप २०२६ को पहिलो दिन सोमबार दुई खेल हुँदैछन् । उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।
माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको इतिहास त्यति बलियो छैन । नेपालले भुटानसँग पहिलो संस्करणबाटै प्रतिस्पर्धा गर्दै आएको छ ।
सन् २०१५ मा घरेलु भूमिमा सम्पन्न पहिलो संस्करणमा नेपालले भुटानलाई ३-१ ले हराएको थियो । जतिबेला कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरेका थिए । त्यसपछिका तीन भेटमा नेपालले भुटानलाई निर्धारित समयमा हराउन सकेको छैन ।
नेपालले भुटानको थिम्पुमा सम्पन्न दोस्रो संस्करणमा उपाधि जितेको थियो । सिंगल राउन्ड रोविन लिगमा नेपालले बंगलादेशलाई पछाडि पारेको थियो । त्यो संस्करणमा नेपालले भुटानसँग १-० को अप्रत्याशित हार बेहोरेको थियो । दुई वर्षपछि हल्चोक, काठमाडौंमा सम्पन्न तेस्रो संस्करणमा त नेपालले तीन गोल खायो । पानी परेर हिलाम्मे भएको मैदानमा नेपाल ३-० ले पराजित भएको थियो ।

दुई वर्षअघि यी दुई चौथोपटक भेटेका थिए । यसपाली सातदोबाटोमा सम्पन्न छैटौं संस्करणमा नेपालले सेमिफाइनलमा भुटानलाई प्रतिद्धन्द्धी पाएको थियो । जतिबेला गोलकिपर जियारथ सेख नायक बन्दा नेपाल हारबाट जोगिएको थियो । निर्धारित समय १–१ को बराबरी भएको थियो । त्यसपछि जियारथले दुई पेनाल्टी प्रहारलाई विफल पारेका थिए । त्यतिबेला नेपालको टचलाइन उर्जन श्रेष्ठले सम्हालेका थिए ।
यसपाली पनि नेपाललाई श्रेष्ठले नै लिड गरिरहेका छन् । नेपाल करिब ४० दिनको प्रशिक्षणपछि माल्दिभ्स पुगेको छ ।
सहभागी सात राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । नेपाल रहेको समूह ‘ए’मा भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् । समूह ‘बी’मा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन् ।
दिनको दोस्रो खेलमा माल्दिभ्सले श्रीलंकासँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ ।
