काठमाडौं । अलराउण्डर बसिर अहमदको शतक सहयोगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
आइतबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले लगातार दुई पटकको च्याम्पियन पुलिस क्लबमाथि २२ रनको जित हात पारेको हो ।
वर्षाका कारण मैदान ओसिलो रहेका कारण ढिला सुरु भएको खेल ४७ ओभरमा छोट्याईएको थियो । पुलिसले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो ।
आर्मीका लागि बसिरले सर्वाधिक १०० रनको शतकीय इनिङ खेले । बसिरले ८६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । बसिरले यस संस्करणको पहिलो खेलमा नै पिएम कप करियरको पहिलो शतक बनाए । उनले पाँचौ विकेटका लागि भीम सार्कीसँग मिलेर ८८ रनको साझेदारी गरे । भीम ६५ बलमा ६२ रन जोड्दै आउट भए ।
नरेन साउद २१ रनमा अविजित रहँदा ओपनर तृतराज दास १३ तथा अर्जुन साउद र इम्रान शेख समान १० रनमा आउट भए । पुलिसका लागि श्रवण यादवले ३ तथा सागर ढकाल र रशिद खानले समान २ विकेट लिए ।
२४४ रनको लक्ष्य पछ्याएको पुलिस ४५ दशमलब ३ ओभरमा २२१ रनमा अल आउट भयो । पुलिसका लागि रशिद खानले सर्वाधिक ६० रन जोडे । उनले ८२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । शंकर राना ४६, कप्तान आरिफ शेख ३८, करण केसी २३ तथा श्रवण यादव १३ रनमा आउट भए ।
आर्मीका लागि नरेन साउदले ३ तथा आकाश चन्दले २ विकेट लिदा कुशल मल्ल, शाहब आलम, बसिर अहमद र पवन कार्कीले समान १ विकेट आफ्नो नाममा गरे । पहिलो खेलमा जित सहित आर्मीको २ अंक हुदा पहिलो खेलमै पराजित डिफेन्डिङ च्याम्पियन अंक बिहिन छ । आजै भएको अर्को खेलमा एपिएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको थियो ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
