काठमाडौं । एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट रंगशाला प्रयोगको अनुमति नपाएका कारण हङकङविरुद्धको मैत्रीपूर्ण खेल रद्ध गर्नुपरेको भनेर ढाँटेको राखेपले जनाएको छ ।
राखेपले चैत ३ गते नै फ्लडलाइट, साउन्ड सिस्टम, स्कोर बोर्ड र अन्य पूर्वाधारहरुका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १७००१००००२५०१००१ मा ४५ हजार रुपैयाँ जम्मा गराइदिन पत्राचार गरेको थियो ।
राखेपले एडभान्स डिपोजिटपश्चात् रंगशाला उपलब्ध गराइदिने सम्बन्धमा गरेको पत्राचार सार्वजनिक गरेसँगै एन्फाले ढाँटेको खुलासा भएको हो ।
योसँगै राखेपले चैत ५ गते एन्फाका नाममा काटेको पत्र सार्वजनिक गरेको छ । जुन पत्रमा एन्फाबाट प्रतियोगितामा लाग्ने अनुमानित बजेट विवरण प्राप्त नभएको राखेपले जनाएको छ । उक्त पत्रमा राखेपले रंगशाला उपलब्ध गराउन केही सर्त लागु गरेको थियो । जुन पत्रको जवाफ एन्फाले नदिएको राखेपका एक कर्मचारीले खेलाडी डटकमलाई बताए ।
एन्फाले केही घण्टाअघि मात्र (राखेप)ले खेलमैदान तथा रंगशालाका लागि स्विकृति नदिएकाले खेल स्थगित गर्नुपरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसको केही समयमा राखेपले एन्फालाई काटेको दुवै पत्र सार्वजनिक गरेको हो ।
तर, राखेपको यो आरोपमा सत्यता नरहेको एन्फाका प्रमूख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताए ।
‘हामी रंगशालाको स्विकृतिका लागि जहिल्यै घण्टौं राखेप धाइरहेका छौं । तर, राखेपले हामीसँग पैसा नै लिन मानिरहेको छैन,’ तुलाधर दाबी गर्छन्, ‘हामी मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाकै श्रम स्विकृतिको सिफारिसका लागि पनि प्रयासरत छौं । त्यसमा पनि राखेपले आनाकानी गरिरहेको छ । विगतका दिनमा अन्तर्राष्ट्रिय खेलका लागि एन्फासँग राखेपले कहिल्यै यसरी पैसा माग्ने चलन थिएन । तर, यसपाली जुन हिसाबले पैसा मागिएको छ । त्यसले राखेपको मैदान उपलब्ध नगराउने नियत प्रष्ट रुपमा देखिन्छ ।’
आफूसँगै एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र प्रशासन प्रमूख गोकुल थापाहरु थुप्रै पटक धाउँदा पनि राखेपका कर्मचारीहरुले स्वीकृति दिन नसकिने बताएको तुलाधरले दावी गरे ।
उनले थपे, ‘उहाँहरुले एन्फाबाट राखेपको पत्रको जवाफ नआएकोले स्वीकृति दिन नसकिने कुरा अनौपचारिक रुपमा प्रष्टसँग भन्नुभएको छ । बाँकी प्रशासनिक आलटाल गरेर उहाँहरु फुटबल चल्न नदिन उद्दत देखिनुहुन्छ ।’
जबर्जस्ती अर्ली इलेक्सन गर्न खोजेको एन्फालाई उक्त निर्वाचन रोक्न र ‘जिल्ला तहदेखि नै प्रक्रिया पुर्याएर गर्नु’ भन्दै राखेपले पटक–पटक पत्राचार गरेको थियो । जसलाई एन्फाले अटेर गर्दै आएको थियो ।
त्यसैक्रममा राखेपले बिहीबार एन्फालाई पत्र काट्दै यही चैत १३ मा झापामा भनिएको चुनाव स्थगित गरेर ३ दिनभित्र लिखित जानकारी गराउनु भन्दै पत्राचार गरेको थियो । राखेपले एन्फालाई दिएको ३ दिनको समयसिमाको आज अन्तिम दिन हो ।
राखेपका एक वरिष्ठ कर्मचारीले चाँही खेलाडी डटकमसँगको कुराकानीमा भने, ‘एन्फाले सरकारलाई एकदमै अटेर गर्यो । पठाएका पत्रको जवाफ नदिने, सरकारको निर्देशन नमान्ने, देशको कानून नमान्ने जिद्दी एन्फाले गरिरहयो । अहिले आएर हामीले ३ गते नै दिइसकेको स्वीकृति दिएन भनेर खेलकुद परिषद र सरकारलाई बदनाम गर्ने प्रयास गरिरहेको छ । यसमा एन्फाको आफ्नै दूर्नियत देखिन्छ । एन्फा आफैले ठिकठाक रंगशालालाई कुनै दिन अयोग्य घोषणा गराएको पनि विर्सनु हुँदैन । राखेपले खेल रोक्ने काम गर्नै सक्दैन । हामीले खेल गराउनका लागि भनेर रंगशाला उपयोगको स्वीकृति दिएर पैसा जम्मा गर्न भनेका थियौं । उहाँहरुले साउन्ड सिस्टम, फ्लड लाइट र स्कोरबोर्डका लागि जम्मा गर्नु भनेको ४५ हजार रुपैयाँ समेत अहिलेसम्म जम्मा गर्नुभएको छैन । अनि आफै राखेपले मैदान दिएन भनेर हौवा मच्चाइरहनुभएको छ ।’
राखेपका ती कर्मचारीले एन्फाले आफै देशमा फुटबल गराउन असफल भइरहेको अवस्थामा सबैतिरबाट विवादित भएपछि सरकारलाई दोष लगाएर मुख्य विषय विषयान्तर गर्न खोजेको आरोप लगाए ।
