काठमाडौं । अर्जेन्टिना र स्पेनबीचको प्रतिष्टित फाइनलिसिमा विश्वप्रसिद्ध सान्टियागो बर्नाबेउ रंगशालामा हुन सक्ने संकेत देखिएको छ ।
स्पेनी मिडिया आउटलेट मार्काको रिपोर्ट अनुसार खेललाई कतारबाट स्पेनिस महारथी रियाल मड्रिडको घरेलु मैदान बर्नाबेउमा सार्न लागिएको हो ।
यो खेल सुरुमा कतारमा हुने तय थियो । तर, पछिल्लो समय मध्य पूर्वको तनावपूर्ण अवस्था र युद्धका कारण खेल कतारबाट अन्तै सार्ने छलफल भइरहेको छ । आयोजकले यही कारण नयाँ मैदानको विकल्प खोजिरहेका छन् । जसमा शीर्ष नम्बरमा बर्नाबेउलाई लिइएको छ ।
फाइनलिसिमा ‘युइएफए’ र ‘कोनमेबोल’ले संयुक्त रुपमा आयोजना गर्ने अन्तरमहादेशिया प्रतियोगिता हो । जहाँ युरोपियन च्याम्पियनसिपको र कोपा अमेरिकाबीचको विजेताले एकअर्कासँग प्रतिस्पर्धा गर्ने गर्छ । १९८५ देखि सुरु भएको फाइनलिसिमामा अहिलेसम्म तीन संस्करण सम्भव भएका छन् । पछिल्लो संस्करण इटालीलाई ३–० ले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको थियो ।
