काठमाडौं । साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल दिउँसो १२ः४५ बजे हुनेछ ।
सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन् । श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो ।

नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा उत्रिँदैछ । पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलयामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो । यसबीच नेपालले एसियन कप छनोट २०२६ मा सहभागिता जनाएन । फुटबलको सर्वोच्च निकाय एन्फाले प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो ।
मंगोलिया जाने टोलीमा रहेका चार खेलाडीले बैंककमा पनि खेल्दैछन् । कप्तान विजयी श्रेष्ठ, उनका ‘फिक्सो’ सहकर्मी सरोज तामाङ र सञ्जय स्याङ्ताङ अनि ‘आला’ अमित तामाङले मंगोलिया जाने टोलीमा थिए । विजयी र सरोजका लागि यो लगातार तेस्रो अन्तर्राष्ट्रिय एक्सपोजर हो । मंगोलियाअघि यी दुईले र्कीगिस्तानमा सम्पन्न ‘एसियन कप छनोट २०२२’ पनि खेलेका थिए ।

खेलाडीमा व्यापक परिवर्तनका बावजुद टोलीमा त्यस्तो हेर्नलायक फरक नरहेको सरोजको बुझाई छ । बैंककका लागि प्रस्थान गर्नुअघि उनले भनेका थिए, ‘मंगोलिया जाने टोलीको छुट्टै विशेषता थियो । अहिलेको टोली छुट्टै छ । खेल्ने शैली एउटै हो । म्याटमा प्रदर्शन कस्तो हुन्छ भन्नेले मात्र फरक पार्छ ।’
टोलीलाई यसपाली अनिल बहादुर गुरुङले नेतृत्व गरिरहेका छन् ।
नेपाली टोली
विजयी श्रेष्ठ(कप्तान), पदम तामाङ(गोलकिपर), दीपेश श्रेष्ठ(गोलकिपर), अमित लामा, अशोक दर्लामी, विक्रान्त नरसिंह राना, विशाल सरु मगर, जेनिश प्रजापति, लाक्पा तामाङ, पेम्बा दोर्जे लामा, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ
