काठमाडौं । आसन्न सहिद स्मारक महिला लिग २०८२ का सबै खेल ललितपुर महानगरपालिकास्थित च्यासल रंगशालामा हुने भएको छ ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलतालिका सार्वजनिक गरेको हो ।
चैत ४ गतेदेखि सुरु हुने प्रतियोगितको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे हुनेछ । सोही दिन दिउँसो ३ बजे झापा एफसीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।
लिगमा गत वर्ष दोस्रो चरणमा पुग्न सफल पाँचमध्ये चार र भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट छानिएका ६ गरि कुल १० टोलीको सहभागिता रहनेछ ।
गत वर्ष विभागीय टोलीहरुः च्याम्पियन एपिएफ एफसी, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी अनि बागमती युवा क्लब र वालिङ नगरपालिकाले दोस्रो चरण अर्थात् सुपर स्टेजमा प्रतिस्पर्धा गरेका थिए । यी पाँचमध्ये वालिङको भने यसपाली सहभागिता रहनेछैन । आर्थिक कारण देखाएर वालिङले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको एन्फा स्रोतले जनाएको छ ।
वालिङले नाम फिर्ता लिएसँगै राप्ती एफसीले लिगमा सहभागिता जनाउने भएको छ । छनोट प्रतियोगिताको प्लेअफमा राप्तीले झापासँग १-० को हार बेहोरेको थियो । आ-आफ्ना समूहको तेस्रो स्थानमा रहेका यी दुई टोलीले अन्तिम ‘स्पट’का लागि प्रतिस्पर्धा गरेका थिए ।
छनोट प्रतियोगिताबाट संकटा एफसी, एनआरटी, चर्च ब्वाइज युनाइटेड र आरएस पोखराले सोझै लिगमा स्थान बनाएका थिए ।
वैशाख १२ गतेसम्म चल्ने लिग सिंगल राउन्ड रोविन पद्धतिमा खेलाइनेछ ।


